Total Pageviews

Friday, July 16, 2021

(लघुसमीक्षा) साथी निबन्ध सङ्ग्रह बारे

(लघुसमीक्षा)
साथी
निबन्ध सङ्ग्रह बारे
साथी निबन्ध सङ्ग्रहबारे मेरा ५००० फेसबुके साथीहरूमाझ मनका कुरा राख्न चाहेँ । ५००० सबै साथीहरूले हेर्छन् नै भन्ने लाग्नु ठीक हाे । नहेरे मेराे के बिग्रिन्छ र ! कसै कसैले हेरेभने पनि मलाई सन्ताेषै लाग्ने छ ।
याे पुस्तक २०६४ सालमा २७ जना सदस्य भएकाे "बिहानी प्रकाशन सहकारी संस्था लि." बाट ५००० प्रति प्रकाशन गरिएकाे थियाे । २७जनामध्ये २५जनाले ५०००/-का दरले रकम जम्मा गर्दा १२५०००/- जम्मा भयाे । ९५०००/- हजार लागतमा ५००० प्रति छापियाे । कथाकार परशु प्रधान प्रमुख अतिथी, कृष्णभूशण बल, नारायण तिवारी, बद्री पलिखे, बम देवान लगायत धेर‌ै साहित्यकार र स्थानीयहरूकाे उपस्थितिमा १००००/- खर्च गरेर पुस्तक विमाेचन गरियाे ।
५०००प्रति पुस्तक १००/- का दरले ५०००००/-, राम्रै गरि संस्था चल्ने आशा त्यतिबेला तुसारापात भयाे जुनबेला किताब नबिकेर बाेरामा राखेकाे पुस्तक मुसाले काटेर नष्ट गर्न थाल्याे ।पुस्तक बचाउन टिनकाे बाकसमा राखेकाे पुस्तक अझै बाकसमा नै थन्कि रहेकाे छ ।
जे हाेस् साथीभाईकाे रकम डुबाएर मेराे पुस्तक छाप्ने रहर पूरा गरेँ । म अझै साथीभाईहरूकाे रकम डुबाएकाेमा लज्जित छु ।
अब निबन्ध सङ्ग्रह बारे -- यश सङ्ग्रहभित्र २५ वटा निबन्ध छन् । सबै उत्कृष्ट नभए पनि "साथी" निबन्ध छाेटाे भएर पनि प्रभावकारी रहेकाे छ । "अन्तिम बिसाैनी" पढ्नेहरूलाई साेचमग्न बनाउन सफल रहेछ भन्ने कृष्णप्रसाद श्रेष्ठ बी.ए. र "तेराख"ले पढिसक्नासाथ फाेन गरेर दिनुभएकाे प्रतिक्रियाबाट मलाई प्रष्ट भएकाे थियाे । पुस्तक बिक्नु नबिक्नु भन्दा पनि आफूलाई लागेकाे कुरा स्पष्ट व्यक्त गर्न सकेमा लेखक सन्तुष्ट भएझ‌ैँ म पनि निबन्धमा "अन्तिम बिसाैनी",कथामा "नाति", कवितामा "मानिस" , उपन्यासमा "मानव संसार" र लघुकथामा "नाैरङ्गी" देखि सन्तुष्ट रहेकाे छु ।
..."आफू चाहिँ पक्का साथी बनेर मित्रताकाे कसीमा खराे उत्रनुहाेस् । मित्रताकाे नाममा काेही कलङ्क बन्छ भने त्याे उसैकााे दाेष हुन्छ ।" साथी निबन्धबाट ।
"अन्तिम बिसा‌नी" निबन्धबाट उध्दृत -- "म मात्रै हाेइन, सबै न‌‌ै अन्तिम बिसा‌‌ैनीमा एक्लै हुने रहेछन्- राजादेखि रङ्कसम्म । मृत्यु पर्खन सबै एक्लै... एक्लै हुने रहेछन् । सकैकाे यात्रा उस्तै उस्त‌ै हुँदाेरहेछ ।
ऊ आयाे...
खायाे, पियाे, निधायाे...फुस्सा
मृत्यु आयाे, ऊ गयाे...फुस्सा
सब फासफुस, फासफुस्...फुस्सा
कबाेल अनुसार फर्कियाे... ...अन्तिम बिसाैनी...अन्तिम यात्री...अनन्तमै बिलायाे !"
* * *
यी सबै मैले फेसबुकमा उपन्यास(सम्भव नहुने)बाहेक सबै पाेष्ट गरेकाे छु ।
इन्टरनेटमा चाहनुभएमा मेराे उपन्यास "उडान युवा मनकाे"
https://saran-rai.blogspot.com/ मा पढ्न सक्नु हुने छ ।
🌹
१साउन २०७८
🌹

🌹

 

Saturday, April 17, 2021

(लघुसमीक्षा) आफ्नै आँखामा आफ्नै रचना

 

(लघुसमीक्षा)
आफ्नै आँखामा आफ्नै रचना
 
सरण राई
 
मानव सभ्यताकाे इतिहासमा मानिस जति विकसित वा मानव ज्ञान,सीप र सरसामानहरूकाे आविष्कार हुँदै गयाे, मानिसका व्सस्तता वा क्रियाकलाप पनि बढ्दै र फेरिदै गएकाे छ । विशिष्टिकृत जीवन पध्दत्तिले हर क्षेत्रमा विशिष्टता थप्दै छ । यस‌ क्रममा स्रष्टाले नै आफ्नाे रचनाकाबारेमा शिसुकी जन्मदाता आमालाई शिसुबारे सबैभन्दा बढि चाख र बढि जानकारी भएझैँ आफ्नो रचनाबारे थाहा हुने भएकाले स्रष्टाले आफ्नाे रचनाबारे बाेल्दा आफै मपाई भएकाे मान्न हुँदैन । रचना बुझ्न सहज हुन्छ ।
मेराे भर्खर प्रकाशित फुली कथा सङ्ग्रहबारे आफैलाई लागेकाे मनका कुरा पाठकसमक्ष राखेर हल्का हुने जमर्काे गरिरहेकाे छु ।
फुली कथा सङ्ग्रहकाे सुरुमा नै "नाैरङ्गी"अवधारणा (कन्सेप्ट) राख्नुकाे तात्पर्य कथाहरू यही आधारमा बुनिएका हुँदा कथाहरूका मर्म बुझ्न प्रिय पाठकहरूलाई सहज हाेस् भन्ने मनसाय हाे ।
जीवन साेचे चाहेजस्ताे नहुँदाे रहेछ, अनेक घुम्ती र माेडहरूमा अनपेक्षित बदलाव आउँदाे रहेछ । यस्ता घटनाहरूले सप्तरझ्गी जीवनलाई नाैरङ्गी बनाउन सक्छ । नाैरङ्गी जीवनमा पनि जिजीविषाकाे अदृश्य नवाैं रङले रङ्गिएर मानिस बाँचिरहनु र जीवन भाेगाइ व्याख्या ! कथाका मर्म हाेला कि ! वा पाठकले कथाहरूलाई जसरी अर्थ्याउनु हुन्छ, बुझ्नु हुन्छ, उहाँहरूकाे अधिकार हाे । त्याे नै सही हुन्छ ।
फुली कथा मैले किन लेखेँ ? आफूभित्र दन्किरहेकाे वेदना, पीर र शून्यता रित्ताउन वा पाेख्न लेखेकाे हुँला कि ! हुन पनि याे कथा लेख्दा म आँसुले भिज्थे ,जब आँखा नै रुन थालेपछि लेख्न नसकि कलम छाड्थे । जाे लेख्न चाहन्थे, ब्रेक हुन्थ्याे ।राेई राेई अब लेख्दिनँ भन्ने भएर लेख्न छाडेकाे बेला विवीमायाले लेखिसक्नुहाेस् भनेर प्राेत्साहन र प्रेरणा दिन्थिन् ।फेरि लेख्न थाल्थे,फेरि त्यस्तै हुन्थ्याे ।त्यसैले कष्टसाथ एक महिनामा मात्र कथा लेखिसकेँ ।
मेरा कथाहरू म आफ‌ै टाइप गर्छु । टाइप आफैले गर्दा कथालाई परिस्कार गर्न पाइन्छ, त्रुटी थाहा हुन्छ र सुधार गर्न सकिन्छ । टाइप गर्न त थालियाे तर फेरि "उहीँ रूप" । टाइप गर्नुभन्दा मन रुने धेर । त्यसैले टाइप गर्न पनि एक महिना नै लाग्याे ।
याे कथा उत्कृष्ट र सुन्दर बनाेस् भन्ने चाहनाले कथा क्षेत्रमा राम्राे सैलीका कथाकार बहिनी रीता ताम्राकारलाई सुझावका लागि इमेलमा कथा पठाएँ । उहाँका सुझावअनुसार परिस्कार पनि गरेँ र फुली कथाले पूर्ण रूप धारण गर्याे ।
कथा त जन्मियाे अब छाप्ने कसरी ? बाह्रखरी उत्कृष्ट कथामा छाप्न पाए... नियम १०००देखि ४०००सम्मकाे शब्दसीमा । कथा "फुली" ६३३५शब्द काे । मेराे जीवनकालमा नै छापियाेस् मेराे चाहना । पत्रिकाले लामाे भएकाेले छाप्ने सम्भावना नभएर कतै पठाइन । आफै छाप्ने । तर एउटा कथाकाे सङ्ग्रह हुँदैन । पुराना कथा खाेज्दा केही भेटिए । "वश" कथा हुन त अनलाइन अनलाइन पत्रिकामा छापिँदा-- कथाकाे हुर्मत ! कहाँ अन्तिम घडिमा रहेकाे बिरामी !"एनिमा"लाई ऐना हेरेकाे बनाएर कथाकाे मर्म सत्यानास भएकाेले साे सपार्न पनि फुली आफ्नै खर्चमा छाप्नु पर्याे ।
अझ‌ै सङ्गग्रह बनाउन एक दुई वटा लेखेँ । राजनैतिक कथा हटाउदा १० वटा भयाे । एउटा ४पृष्टकाे "मायाहरू"कथा लेखेँ र ११ वटाकाे सङ्ग्रह तयार पारेँ ।
"मायाहरू" अति छाेटाे भएर पनि उत्कृष्ट कथा बनेकाे छ , पाठकहरूले करिब ५/७ मिनटमा पढि सक्छन् तर त्याे कथाले पार्ने प्रभाव भने ५/७ मिनट भन्दा बढि नै पाठककाे मनमा रहीरहनु वा पाठकलाई केही बेर साेचमग्न बनाउन सक्नु कथाकाे उत्कृष्टता भएकाे छ ।
क्रमश:
२०७७ चैत १४,१५,१७

 

Sunday, April 11, 2021

निरूपा प्रसूनकाे दृष्टिमा "अन्तिम आयाम" कथा सङ्ग्रह

 

निरूपा प्रसूनकाे दृष्टिमा "अन्तिम आयाम" कथा सङ्ग्रह
 
सामाजिक परिवेशका कथा
 
निरूपा प्रसून 
 
सरण राइर्को नवीनतम कथासङ्ग्रह अन्तिम आयाम बजारमा आएको छ । सत्र वटा कथा समावेश गरिएको यस सङ्ग्रहभित्रका कथामा समसामयिक सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ । हामीले अनुभूत गरेका र हामीले देख्ने, हाम्रो वरिपरि घट्ने घटनाहरूको शृङ्खलालाई नै कथाकार सरण राईका कथाहरूको विषय रहेको छ ।
नाति शीर्षकको कथा यस सङ्ग्रहभित्रको पहिलो कथा हो, जुन कथामा एउटा वृद्ध बुबालाई वृद्धाश्रममा लगिएको हुन्छ भने हजुरबुबालाई नाति भेट्न नआउने कुराले पिरोल्छ । यस्ता घटना कथामा मात्र होइन अचेल घअरघरमा घटिरहेका हुन्छन,् जुन कुराको प्रस्तुति यस कथामा भेट्छौँ हामी । अर्को उज्यालो कथामा जुनी–उनी नामक प्रमुख पात्र रहेकी छिन् । उनी प्रख्यात गायिका÷नायिका हुन्छिन् । ‘जुनी–उनी हेर्दा छचल्किने गरी भरी देखिए पनि तिनीभित्र छ एउटा रित्तो संसार ।’ बाहिरी दुनियाँमा निकै चमकदमकको जिन्दगी बाँचिरहेकी देखिए पनि उनको जिन्दगीमा नमिठो घटना हुन्छ जसको कारण उनी बाहिरी दुनियाँको लागि मुस्कुराए पनि आफ्नो लागि सधैं पीडामा तडपिरहेको पात्र हुन्छे । एकान्त पाउनासाथ आँसुमा डुब्नु जुनी–उनीको नियति नै अर्को उ््रज्यालो कथाको कथा हो । त्यसैगरी के जीवन नाटक हो ? शीर्षकको कथामा एक जोडी प्रेमी आफ्ना् प्रेमलाई मूर्त रूप दिन विवाहमा परिणत हुन्छन् । ती प्रेमीको वैवाहिक जीवनको कथा नै के जीवन नाटक हो ? कथाको कथा हो । विवाहपछि प्रेम हराउदै जाने अनेकन समस्या र उल्झनको बीच आफ्नो अस्तित्व नै धरापमा रहेको कुरा उल्लेखित छ कथामार्फत । आफ्नोलागि भन्दा अरुका लागि बाँचिदिनुपर्ने कुरा यस कथाको निष्कर्ष छ ।
गाढा प्रेम जीवनमा सबै कुराहरू माज्ज्न्छेले चाहे जस्तो हुँदैन । यही पङक्तिबाट यस कथाको शुरुवात भएको छ । पत्नी यायोक्माको मृत्युपछि पतिको दुःखद घटनाक्रम नै गाढा प्रेम कथाभित्रको कथा रहेको छ । । आमाको अकालमै मृत्यु भएपछि सानी छोरीको पनि बिजोग भएको देखी छरछिमेकका सबैकी प्रिय पात्र यायोक्माको मत्युले सबै शोकाकुल भएका हुन्छन् ।
क्थाकार सरण राईको कथासङ्ग्रहभित्र यस्तै कथा समावेश गरिएका छन्, जुन कुनै नयाँ र नौला लाग्दैनन् तर पढुन्जेल लागिरहन्छ आफ्नै घरभित्र वा छिमेकका घटना हुो । प्रेम सम्बन्धका कथाको वर्चस्व रहेका कथा सबै मानव सम्बन्धकै वरिपरि घुमेका छन् । हामीले जे भोगेका छौँ त्यो नै उनका कथाका विषय हुन् । जीवनका कथा नै यस कथासङ्ग्रहमा मुख्य रूपमा आएका छन् । मृत्यु र प्रेमले मान्छेलाई पार्ने प्रभाव निकै सशक्त ढङ्गले यस कथासङ्ग्रहभित्र प्रस्तुत गरिएको छ, जुन कुरा हामीबाट अलग गर्न सक्दैनौँ त्यही कुरा नै हामी कथाकार सरण राईको कथासङ्ग्रह अन्तिम आयामभित्र भेट्छौँ । ‘मानिसलाई जीवनमा चाहिने के होला ? दाम, ननाम, काम पक सन्तोष, सुख र पूेम !’ कथामार्फत कथाकारको प्रश्न हुन्छ पाठकलाई । कहिले उनलाई लाग्छ, ‘पुग्नुपर्ने कतै छैन, गन्तव्य छन तर हिँडिरहनुपर्ने । पाउनुपर्ने नयाा प्राप्ति केही छैन, सामथ्र्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिरहेको परिस्थिति, रूप, तागत, बलवैँश, आँट, जाँगर अथवा जीवनका सुन्दरताले छाड्न लागेको अवस्था मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन ।’ कविता जस्ता लाग्ने यी र यस्ता हरफले कथालाई रोचक बनायन सहयोग गरेका छन् । जीवन र दर्शन ािसिएको कथासङ्ग्रह पठनीय बनेको छ ।
सरल र सहज भाषाशैली प्रयोग गरिएको यस कथासङ्ग्रहभित्र कुनै अर्को ग्रहको तथा स्वैरकाल्पनिक कथा समावेश गरिएको छैन । हाम्रो आफ्नै धरातलको, हामीले भोगेका र भोग्न बाँकी जिन्दगीका आयामहरू नै अन्तिम आयामभित्र समाविष्ट छन् । यस सङग्रहभित्रका समग्र कथामभ्येको एक कथाको शीर्षक छ अन्तिम आयाम । त्यसै कथाको शीर्षकलाई नै सङ्ग्रहको शीर्षक राखिएको छ तर यस शीर्षकले सङग्र्हभित्रका समग्र कथालाई प्रतिनिधि गर्न सफल देखिन्छ अन्तिम आयाम शीर्षकले ।
मधुपर्क पूर्णाङ्क ५९१, २०७५ भदौ