Total Pageviews

Sunday, September 25, 2016

जीवन र अग्रगमनबारे लेख्ने नै उत्कृष्ट हुन्छ

जीवन र अग्रगमनबारे लेख्ने नै उत्कृष्ट हुन्छ

सरण राई

साहित्यकार सरण राईको जन्म भोजपुरको छिनामखुमा विक्रम सम्वत २००४ चैत्र २४ गते सोमबार भएको हो । धरान १९/१३९ ठेगाना हुनु भएका राईको माता शिवमाया राई र पिता मछिन्द्रबहादुर राई हुनुहुन्छ । उहाँका प्रकाशित कृतिमा केही कथा केही कविता (सहलेखन), साथी (निबन्धसङ्ग्रह), मानव संसार (उपन्यास), अन्तिम स्वीकारोक्ति ( कथासङ्ग्रह), उडान युवा मनको (इन्टरनेटमा मात्र प्रकाशित उपन्यास) हुन् भने अर्को उज्यालो (कथासङ्ग्रह) प्रकाशोन्मुख कृति हो । राष्ट्रिय शिक्षा पुरस्कार (२०४७), त्रिभुवन विश्वविद्यालय दीर्ध सेवा पदक (२०५२) र भानु रचना पुरस्कार (२०७१)जस्ता पुरस्कारबाट सम्मानित राई भन्नु हुन्छ – “जीवन, निर्माण, अग्रगमन र उजयालोको पक्षमा लेख्ने लेखक मानव सभ्यताका आकाशमा सधैं चम्किरहन्छ ।’ प्रस्तुत छ विमोचन मासिक पत्रिकाका लागि अरुणबहादुर खत्री ‘नदी’ले उहाँसँग गर्नुभएको कुराकानी –


 साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ ?
—साहित्य र स्रष्टाप्रति राष्ट्रको गहन जिम्मेवारी रहन्छ । साहित्य र स्रष्टाले जनताको चरित्र, स्वभाव र क्रियाशीलता निर्माणमा उल्लेख्य भूमिका खेल्छ । साहित्यलाई राष्ट्र, विश्व शान्ति र मानवीयताको पक्षमा राष्ट्रले प्रयोग गर्ने कोसिस गर्नु राष्ट्रको जिम्मेवारी हो भने घरभित्र एउटा अभिभावकले  जस्तै  स्रष्टाको हेरविचार राष्ट्रले गर्नु पर्दछ ।
लेख्नुपर्ने वाध्यता कतिबेला महसुस हुन्छ ?
    —जब समाज, देश र मानिसहरूको जीवनमा विपत्ति देखिन्छ, परोक्ष केही गर्न नसकिने अवस्थामा लेखेर केही बाटाहरू खोज्न सकिएला कि ! विवशताले लेख्न कर लगाउछ ।
तपाईको साहित्यिक आदर्श चाहि के हो ?
    —मानिसहरूका मनमा जीवनप्रति आस्था जगाउनु हो । जो जीवनको माया गर्छ, उसले अन्याय,अत्याचार वा नराम्रो काम गर्दैन । जीवन बाँच्ने सहज परिवेश निर्माणमा योगदान गर्छ ।
वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्वलाई बहन गर्न सकेका छन् कि छैनन् ?
—वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्व धेरै अंशमा बहन गरिरहेका छन् । साहित्यमा बिभिन्न धार र प्रभावहरू छन् । कोही साहित्यकारहरू गलत धार र प्रभावहरूमा परेका देखिन्छन । रङ्गी बिरङ्गी हुनु साहित्यको विशेषता भएकोले लेखकले आफ्नो दायित्वलाई बहन गर्दा पनि एकरूपता हुनु पर्ने हुँदैन । 
आफ्ना कृतिबारे गरिएको समालोचना र मूल्यांकन ठीक छ जस्तो लाग्छ कि लाग्दैन ?
— मेरा  कृतिबारे समालोचना र मूल्यांकन भएकै छैन तसर्थ ठीक लाग्ने वा नलाग्ने कुरा भएन । अहिलेको विडम्बना आफ्ना कृतिबारे समालोचना र मूल्यांकन गराउन पनि ठुलै शक्ति लगाउनु पर्ने रहेछ । मसित त्यस्तो शक्ति केही छैन र मलाई मेरा  कृतिबारे समालोचना र मूल्यांकन नभएकोमा कुनै गुनासो छैन । मेरो काम लेख्ने हो, कसैले पढेर केही ग्रहण ग¥यो भने मेरो लेखन सफल भएको ठान्छु ।
अहिले र पहिलेको साहित्यलाई तुलना गरी हेर्नुपर्दा कस्तो भिन्नता पाउनुहुन्छ ?
—धेरै भिन्नता छ । पहिला आफूले चाहेजस्तो लेख्न सक्ने वातावरण थिएन । अहिले जे विषयमा पनि र जस्तो पनि लेख्न सकिन्छ  । पंचायत नै रहेको भए म लेखक हुन्नथे । साझाले मेरो कथा सङग्रह ‘अन्तिम स्वीकारोक्ति’ पनि छाप्तैनथ्यो । अहिले लेखकहरूलाई लेख्ने स्वतन्त्रता छ । तर कहिलेसम्म रहने हो ? त्यो भने अन्यौलग्रस्ट बन्न थालेको देखिन्छ ।
तपाईंको विचारमा अब कस्तो साहित्य लेखिनुपर्छ जस्तो लाग्छ ?
—अब लेखिने साहित्य दुखी मानिसहरूको जीवनमा उज्यालो ल्याउने किसिमको हुनुपर्छ । असल राजनीति, रोजगारीमूलक शिक्षा, सिकाइ सिप इलम ,उन्नत संंस्कृति र समाज र स्थाइ विश्व शान्तिका लागि उतप्रेरित गर्ने साहित्य लेखिनुपर्छ ।

पठनपाठन र लेखनमा रुचि बढाइदिने कोही थिए ?
—थुप्रै साथी भाइहरू, शिक्षक, आमाबुबा र अभिवावकहरू थिए । सानैको साथी गणेश रसिक, फूफु नरदेवी राई, रामनाथ तामाङ, परशु प्रधान, शंकर श्रेष्ठ, नरेश शाक्य, बद्री पलिखे, बेणु आचार्य, अनिल पौडेल, पिता मछिन्द्रबहादुर राई लगायत  थुप्रै साहित्यकारहरूको प्रेरणा मैले पाएको छु ।

तपाई आफ्ना कृतिहरुबाट कतिसम्म सन्तुष्ट हुनुहुन्छ ? असन्तुष्टिका बीच आगामी प्रकाशन कस्ता आउँदै
छन् ?
—केही सन्तुष्ट छु । केही नहुनु भन्दा केही कृति प्रकाशित छन् । आगामि प्रकाशन मेरो एएटा कथा सङ्ग्रह ‘अर्को उज्यालो’  १४वटा कथाहरूको अंग्रेजी अनुवाद  Another Ray of  Sunshine  र एउटा कविता सङ्ग्रह ‘ओइलिने फूल’ तयार छ, प्रकाशकको खोजी गर्दै छु । एउटा उपन्यास लेख्ने क्रममा छु ।
साहित्यकार नभएको भए के हुने सम्भावना थियो ?
—राजनीतिमा जीवनभर संलग्न भइयो । सिद्धान्त र विचारमा आस्था थियो । राजनीति न्यायका निम्ति, शोषितहरूका मुक्तिकालागि , प्रजातन्त्र प्राप्तिका लागि, लोकतन्त्र प्राप्तिका लागि र गणतन्त्र प्राप्तिका लागि थियो । त्यसैका लागि आफ्नो व्यक्तिगत फायदाहरू पनि त्यागेर लागियो । गणतन्त्र प्राप्त भइसकेपछि राजनीतिमा भयङ्कर स्खलन आएको छ, फोहोरी भएको छ । सरकारमा पुगेर कमाउने भन्दा अर्को लक्ष्य केही छैन । राजनीति अहिले देश र जनताको लागि नभएर एउटा निकृष्ट गुठगत, दलगत र सम्प्रदायगत स्वार्थमा अल्झिरहेको छ  । यो ठूलो दुर्भाग्य  अहिले देशले झेलिरहेको छ । यसबाट उन्मुक्ति पाउनका लागि  देशभक्त, इमानदार र न्यायप्रेमी मानिसहरू लागिरहेका छन् । म पनि साहित्यको माध्यमबाट यो राजनैतिक कार्य गरिरहेको छु । साहित्यकार नभएको भए म सायद समाजसुधारक हुन्थे होला कि !

लेखकीय जीवनबाट कहिलेकाही निराश त हुनुभएको छैन ?
— लेखकीय जीवन मैले अवकाशप्राप्त भएपछि स्वेच्छाले अङ्गालेको हुँ ।  अब कति नै बाँचिएला र ! राणा शासण, पञ्चायत, बहुदलिय र गणतन्त्र चार प्रकारको व्यवस्था भोगि सकियो । अहिलेको अवस्था सन्तोषजनक नभए पनि  देशलाई कसैले पनि आफ्नो स्वार्थको मुट्ठीमा सधैं कैद गर्न सक्तैन  । जनताले चाहेको त्यो दिन आइरहेको छ  । तसर्थ म निराश छैन ।

अहिले लेखनप्रति केले प्रेरणा दिइरहेको छ ?
     — निकृष्ट गुठगत, दलगत र सम्प्रदायगत स्वार्थमा अल्झिरहेको राजनीतिका बिरुद्ध इमानदार र न्यायप्रेमी मानिसहरू लागिरहेका छन् । म उनीहरूलाई सहयोग गर्न लेख्छु । समस्याहरूबाट निकास नपाएर निराशामा डुबेकाहरूको मनमा उत्साह, जाँगर र जीवनप्रति आस्था जगाउनका लागि लेख्छु । यो क्षणिक जीवन मानिसहरूले बुझेर राम्ररी उपयोग गर्ने प्रेरणा पाउन् भनेर लेख्छु ।
लेख्न बस्दाको तयारी र लेख्ने दैनिक तालिकाका बारेमा केही भनिदिनुस् न ?
— मलाई अहिले फुर्सदै फुर्सद छ । यो फुर्सद आफ्ना लागि म आफैले सृजना गरेको हुँ । मन परेको कुरा गर्छु, मन नपरेका कामहरू म भर्सक गर्दिनँ । लेख्नकालागि म कुनै तयारी गर्दिनँ । तयारी गनुपर्ने कुरा डा.ध्रुवचन्द्र गौतमलाई भेटेपछि थाहा भयो । मेरो लेख्ने दैनिक तालिका पनि छैन । मन लागेको बेला लेख्छु । तर एउटा उपन्यास लेख्ने क्रममा छु , त्यसका लागि भने लेख्ने दैनिक तालिका वा तयारी गर्नु पर्ने भएको छ ।
कस्तो लाग्छ लामो समय लेखनमा बिताई बस्दा ?
—लेखन एउटा नसा पनि रहेछ । जब चित्त बुझ्दैन वा चित्त बुझ्छ त्यो भाव र अनुभूति सबैसामु प्रकट गर्न मन लाग्छ र राम्ररी प्रकट गर्न सकियो भने सुख  अनुभव हुन्छ । मैनबत्ति जल्दैछ, उज्यालो दिँदैछ तर मैनबत्तिको आयु सकिदै छ । त्यस्तै रहेछ मानव चोला ... केही गरिरहे पनि वा केही नगरीरहे पनि आयु घटिरहेकै हुन्छ । यस्तो अवस्थामा लामो समय लेखनमा बिताइ सक्दा  अविरल सकिइरहेको समय केही सदुपयोग गरेझैँ लाग्छ ।
लेख्दा कस्तो वातावरण चाहिन्छ ?
—एकान्त र शान्त वातावरण चाहिन्छ ।
लेख्ने विषयवस्तु कसरी आउछ दिमागमा ?
— लेख्ने विषयवस्तु थुप्रै छन् । सबै लेख्न सम्भव हुँदैन । तीमध्ये आफ्नो रुचीको विषय छान्नु पर्छ । ती लेख्ने विषयवस्तु पनि सधैं दिमागमा आउदैन । कुनबेला आउँछ, ध्यानमा राखेर लेख्नु पर्छ । जबर्जस्ती लेख्न सकिदैन ।
सफल स्रष्टाको लागि आवश्यक गुण के के हुन् ?
—सफल स्रष्टाको लागि आवश्यक गुण भनेकै जुन कुरा लेखकले भनिरहेका छन् त्यो पाठकले आफैले भोगिरहेजस्तो  अनुभूति गर्न  सकुन् । अनावश्यक गनथनले अरुची पैदा गर्छ । आफ्नो कुरा सटिक रूपमा भनेर पाठकको मनमा गहिरो प्रभाव उत्पन्न  गर्न सक्नु सफल स्रष्टाको गुण हो । लेखनमा लेखक इमानदार हुनु आवश्यक गुण हो ।
साहित्यिक यात्रामा लागिरहँदा तपाईले सम्झिनै पर्ने रोचक घटना वा प्रसङ्ग केही छन्  कि ?
—२०२२ सालमा ओखलढुङ्गामा एउटा कविता गोष्ठि भएको थियो । गणेश रसिक र म पनि सहभागि भएका थियौँ ।  त्यहाँ आगन्तुक कविहरूलाई गरिएको स्वागत, बनभोज, गोष्ठि र ओखलढुङ्गा (जसको नामबाट ओखलढुङ्गाको नाम रहेको ढुङ्गामाथि बसेर सबै कविहरूले कविता लेखेका थिए) को सम्झना ताजै छ । त्यहाँ वाचन गरेको मेरो पहिलो कविता ‘भ्रम’ दैलो पत्रिकामा छापियो रे । तर त्यो पत्रिका आजसम्म पनि हेर्न नपाइएकोले मेरो पहिलो कविता ‘भ्रम’ पनि मसित छैन ।
साहित्यतर्फ कुन बिधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
—साहित्यतर्फ  कविता बिधाका पाठक सबैभन्दा बढी  छन् । तर बिडम्बना कविताको किताब कम बिक्री हुन्छ । त्यसपछि आख्यानका पाठकहरू रहेका छन् ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवार रहन्छ ?
— घरभित्र एउटा अभिभावकले साना नानीहरूको हेरचाह गरे जस्तै  स्रष्टा र साहित्यको हेरविचार राष्ट्रले गर्नु पर्दछ ।

सृजनामा सजीवता र काल्पनिकता कुन बढी हुनुपर्छ ?
—सृजनामा सजीवता र काल्पनिकता कुन घटि वा बढि हुनु पर्छ भन्ने सन्दर्भमा यस्तै अनुपात हुनु पर्छ भन्ने केही छैन । लेखकले कुन उद्देश्य र प्रयोजनका लागि लेखिरहेको छ , विषयबस्तुको माग अनुसार सजीवता र काल्पनिकता दुवै मध्ये कुनै बढि प्रयोग गर्न सक्छ ।
नयाँ लेखकलाई के सुझाव दिनु हुन्छ ?
—    लेखनले पार्ने दिर्घकालीन प्रभाव ध्यानमा राखेर लेखकले आपूmलाई इमानदार  राखेर सस्तो लोकप्रियताको पछि कुद्नु हुँदैन । उद्देश्यमूलक लेखनलाई निरन्तरता दिएर समाज, मानव सभ्यता र अग्रगमनलाई साथ दिनु लेखकको दायित्व हुन्छ । तसर्थ नयाँ लेखकहरूले दृढतासाथ अँध्यारोको विपक्षमा उज्यालोको पक्षमा, मृत्युको विपक्षमा जीवनको पक्षमा र बिनासको विपक्षमा निर्माणको पक्षमा उभिनु पर्दछ ।  जीवन, निर्माण, अग्रगमन र उज्यालोको पक्षमा लेख्ने लेखक मानव सभ्यताको आकाशमा सधैं चम्किरहन्छ , मानव हृदयमा सदैव जीवित रहन्छ ।

‘विमोचन’ वर्ष ३५,अङ्क १,  २०७३ साउन

ंंंंं