Total Pageviews

Monday, September 26, 2022

(लघुआत्मालाप) म पास भएँ

 

(लघुआत्मालाप)
म पास भएँ
 
सरण राई
 
जीवनको हर घडि
परीक्षाको घडि
म अहिले जीवनको बिट मार्ने (फिनिसिङ टच दिने) क्रममा छु । आजसम्म मैले छोडेका अधुरा अपूरा कामहरू सक्ने र गरिसकेका कामहरूको स्वमूल्याङ्कन गरिरहेको छु ।
त्यसै क्रममा मैले लेखेको १७वटा कथाहरूको सङ्ग्रह “अन्तिम आयाम” भर्खरै मात्र पढिसकेको छु । पहिलो कथा ‘नाति’ त उत्कृष्ट कथाहरूको पङ्तिमा उत्तिर्ण हुन्छ भन्ने मेरो विश्वास थियो । कारण त्यो कथा लेखिसकेपछि मेरो धर्मपत्नी लक्ष्मी राईलाई पहिलो श्रोताको रूपमा कथा पढेर सुनाई सकेपछि तिनको प्रतिक्रिया थियो— “आँसु आउने खालको छ ।” त्यो कथा ‘गरिमा’मा प्रकाशनार्थ पठाएको एक महिनामा नै प्रकाशित पनि भएको थियो । जतिजनाले पढे, सबैले मन पराएकाले त्यो उत्कृष्ट हुन्छ भन्ने मलाई लागेको हुन्छ । नभन्दै धेरै समयपछि पढ्दा चित्त बुझ्यो ।
दोस्रो कथा ‘अर्को उज्यालो’ पढ्दा धुकचुक लागिरहेको थियो । कथाकार म स्वयं नै परिक्षक भएकोले ‘के होला ? के होला ?’ भन्दै पढिसक्दा म प्रसन्न भएँ । त्यसपछिका कथाहरू— के जीवन नाटक हो ?, गाढा प्रेम, तपश्वी महात्मा महामानव, सहीद परिवार, विस्थापित मुटु, राजनैतिक कार्यकर्ता, आमाको मन, आफ्नै कथा–ब्यथा, परकम्प, असामयिक निधन, प्याजी फूल, अन्तिम आयाम, दुई दिनको पाहुना, र शान्तिधाम पढ्दा पनि मलाई लागिरह्यो स्तरहीन कथा भए ती कथाहरू उत्कृष्ट हुने छैनन् र म कथाकारको रूपमा अनुत्तिर्ण हुने छु ।
दिनका दिन दिनको एक वटा मात्र कथा पढ्ने गरेँ । एक पछि अर्काे कथा उत्तिर्ण हुँदै गए । अझै एउटा कथा ‘सुनको पलङ’ बाँकि छ । के कसो होला ? यो कथा मैले लेखेका सबैभन्दा लामो कथा हो । पाठकहरूले कथा लामो भएका कारण बिचैमा पढ्न छाडेभने कथा अनुत्तिर्ण हुने छ र कथा सङ्ग्रह नै असफल हुन्छ कि भन्दै कथा पढन थालेँ । कथा पढ्न थालेपछि कथाका प्रसङ्गहरूले पाठकमा जिज्ञासा पैदा गरेर कथा नसकुन्जेल पढ्न प्रेरित गर्ने शक्ति यस कथामा पनि रहेछ र नजानिदो पाराले शिक्षा दिन पनि सक्षम भएको रहेछ ‘सुनको पलङ’ । यस कथाले पनि उत्कृष्टता प्राप्त गरेपछि “अन्तिम आयाम” कथा सङ्ग्रह नै उत्कृष्ट हुन पुगेको स्वमूल्याङ्कनले म पनि आफूलाई सार्थक जीवन गुजारेको मिठास अनुभव गर्न पुग्छु ।
जेहाेस् “अन्तिम आयाम” कथा सङ्ग्रह उत्कृष्ट हुन सफल हुँदा म पास भएकाे महसुस गर्न पुग्छु ।
🔴
२०७७ असोज ९ शुक्रबार, धरान
पुनश्चः— यो कथा सङ्ग्रह पढ्न चाहनु हुन्छ भने प्रकाशक पाँचपोखरी प्रकाशन गृह न्यूरोड काठमाडौंमा उपलब्ध छ । मेरा पुस्तकहरू
१. अन्तिम आयाम –कथा सङग्रह
२. नौरङ्गी – एक सय एक लघुकथा
३. मानव संसार–उपन्यास
पाँचपोखरी प्रकाशनमा उपलब्ध छ । होम डेलिभरीको पनि व्यवस्था छ । होम डेलिभरीका लागि सम्पर्क फोन —९८४११७१०८५ र ९८४१३५५८६५फोनमै अर्डर गर्नुहोस् वा उक्त नं.मा आफ्नो फोन नंं टिपाउनु होस् ।
 
 
 
🙏🔥

🙏

No comments:

Post a Comment